logo
  • २६ जेष्ठ २०८३, मंगलवार | Tue, 09 Jun 2026
  • “अभियानको स्थगन केवल कार्यक्रमको अन्त्य होइन, उद्देश्यविहीनता र नेतृत्वगत विचलनको संकेत”

    “अभियानको स्थगन केवल कार्यक्रमको अन्त्य होइन, उद्देश्यविहीनता र  नेतृत्वगत विचलनको संकेत”

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अनेरास्वियू (क्रान्तिकारी) भित्र आन्तरिक मतभेद फेरि सतहमा आएको छ।

    हालै सम्पन्न २३औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले सुरु गरेको “तीन महिने संगठन सुदृढीकरण तथा विस्तार अभियान” अचानक स्थगित गरेपछि संगठनभित्रको असन्तोष झनै तीव्र बनेको छ।

    संगठनका केन्द्रीय उपाध्यक्ष सन्दीप पुनले अभियान स्थगनको निर्णयप्रति असहमति जनाउँदै सार्वजनिक अपिल जारी गरेका छन्। उनले उक्त निर्णय एकतर्फी, नेतृत्वहीन र रणनीतिक दृष्टिले भ्रमपूर्ण भएको टिप्पणी गरेका छन्। पुनको भनाइमा, “अभियानको स्थगन केवल एउटा कार्यक्रमको अन्त्य होइन, यो उद्देश्यविहीनता, रणनीतिक कमजोरी र नेतृत्वगत विचलनको चिन्ताजनक संकेत हो।”

    पुनले सार्वजनिक अपिलमा शिक्षा प्रणालीका विकृति र विद्यार्थीहरूका समस्या समाधानतर्फ संगठनले पर्याप्त ध्यान नदिएको आरोप समेत लगाएका छन्। “के हाम्रा झण्डाहरू वास्तवमै विद्यार्थीका पक्षमा छन्, वा केवल नाराका लागि सीमित छन्?” भन्दै उनले नेतृत्वको प्रतिबद्धता र कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

    उनले शैक्षिक प्रणालीमा सुधार ल्याउन विद्यार्थी संगठनहरू जिम्मेवार हुनुपर्नेमा जोड दिँदै भनेका छन्, “अभियान घोषणा गरेर बीचमै छाड्ने परम्पराले संगठनको विश्वसनीयता र प्रभाव दुबैमा क्षति पुग्छ।”

    सार्वजनिक अपिलमा पुनले संगठनको दीर्घकालीन योजनाको अभावप्रति पनि चिन्ता व्यक्त गरेका छन्। “हरेक वर्ष करिब ५ लाख विद्यार्थी एसईई उत्तीर्ण भएर कक्षा ११ मा प्रवेश गर्छन्, तर संगठनको रणनीति भने स्पष्ट छैन,” भन्दै उनले ‘१० लाख युवालाई प्रगतिशील बनाउने’ नारालाई व्यवहारिक रूपमा कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा गम्भीर छलफलको खाँचो औंल्याएका छन्।

    पुनले आफ्नो अपिलमा नेतृत्वमा इमानदारी, वैचारिक स्पष्टता र सांगठनिक प्रतिबद्धताको खाँचो औंल्याउँदै हो चि मिन्हको प्रसिद्ध भनाइ उद्धृत गरेका छन् — “गद्दारले धोका दिन्छ, कायरले घुँडा टेक्छ, बहादुर लड्छ, र इमानदार अघि बढ्छ।” उनले संगठनमा यस्ता गुणहरू आवश्यक रहेको उल्लेख गरेका छन्।

    अनेरास्वियू (क्रान्तिकारी) को आन्तरिक व्यवस्थापन, नेतृत्व शैली र रणनीति सम्बन्धी विवादहरू सार्वजनिक हुँदै गइरहेका बेला उपाध्यक्ष सन्दीप पुनको अपिल संगठनभित्र गहिरो असन्तुष्टि र मतभेदको संकेतस्वरूप आएको देखिन्छ। पुनको अपिल संगठनको वर्तमान दिशा र नेतृत्वप्रति गम्भीर प्रश्न उठाउने दस्तावेजका रूपमा देखिएको छ।

    अब संगठनले यस्ता सार्वजनिक आलोचनालाई कसरी सम्बोधन गर्छ, र स्थगित अभियान पुनः सक्रिय पार्नेछ वा वैकल्पिक योजना ल्याउनेछ भन्ने प्रतीक्षा छ। संगठनभित्र देखिएको मतभेद समाधान नगरे विद्यार्थीसँग जोडिएको आन्दोलन कमजोर हुने खतरा बढ्न सक्छ।

     



    Arogya Times Arogya Times    
  • २२ असार २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट