logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • हरिया अजङ्गका पहाडमाझ पदयात्राकाे गन्तव्य ‘बुकीपाटन’

    हरिया अजङ्गका पहाडमाझ पदयात्राकाे गन्तव्य ‘बुकीपाटन’

    हरिया अजङ्गका पहाड, तिनका काखमा समथर मैदान—समुद्री सतहबाट चार हजार मिटरभन्दा अग्ला यी पहाडहरू अहिले पदयात्रा प्रेमीहरूका लागि लोभलाग्दा गन्तव्य बनेका छन्। यही सुन्दरताको साक्षात्कार गर्न हिजोआज पर्यटकहरू दैनिकजसो ती पहाडतर्फ उक्लिरहेका देखिन्छन्।

    बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा अवस्थित ‘बुकीपाटन’ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ। पाँच वर्षअघिसम्म गोठाला र वस्तुभाउ मात्रै देखिने यो ठाउँ अहिले पदयात्राको रमणीय गन्तव्यको रूपमा परिचित बन्दैछ।

    उच्च पहाडी हावापानी, शान्त वातावरण र मनमोहक हिमशृङ्खलाको दृश्यले पर्यटकहरूलाई लोभ्याउँदै आएको छ। गाउँसहरका युवा समूहहरू दैनिकजसो बुकीपाटन उक्लिने पदमार्गमा देखिन थालेका छन्। स्थानीय बासिन्दा गुनबहादुर बुढामगरका अनुसार, सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट प्रचारप्रसार बढेसँगै पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको छ।

    बुकीपाटन पुग्ने यात्रुहरू दर्जनौँ हिमशृङ्खला, गोठाले जीवनशैली तथा प्राकृतिक सौन्दर्यको अनुभव एकैचोटि लिन पाउँछन्। गर्मीयाममा यहाँको शीतल हावाले तराई र सहरका युवालाई विशेष आकर्षित गरेको छ।

    नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटन भित्र पर्ने बुकीपाटन अघिल्लो वर्षदेखि झनै चर्चामा आउन थालेको हो। ढोरपाटन उपत्यकाबाट झन्डै साढे चार घण्टा पैदल हिँडेर पुगिने यो क्षेत्र करिब ३,००० देखि ४,५०० मिटर उचाइमा फैलिएको छ।

    गुनबहादुरका अनुसार असारदेखि असोजसम्मको समय बुकीपाटन चढ्नका लागि उपयुक्त मानिन्छ। यही मौसममा प्रकृति झनै सुन्दर देखिने भएकाले पर्यटकको चहलपहल बढेको हो।

    “पहिला हामी मात्रै गाइबस्तु लिएर उक्लिन्थ्यौं, अहिले त दिनहुँ झन्डै ५० जना युवाहरू रमाउँदै, फोटो खिच्दै, पुराना कुरा जिज्ञासासाथ सोध्दै बुकी चढ्छन्,” बुढामगरले अनुभव सुनाए।

    ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्ती मगरका अनुसार, पहिले गुमनामजस्तै रहेको बुकीपाटन अहिले सामाजिक सञ्जालमार्फत चर्चामा आएको हो। पोखरा, काठमाडौँ, बुटवल, चितवनलगायत स्थानबाट युवाहरू पदयात्रा गर्न आउने क्रम बढ्दो छ।

    ‘पहिले ढोरपाटनमै फर्किनेहरू अहिले बुकीपाटनसम्म जान थालेका छन्’, घर्तीले भने, ‘ढोरपाटन आउने प्रायः पर्यटक अब बुकीपाटनसम्मको योजना बनाएर आउँछन्।’

    चितवनका पर्यटक रेवनकुमार शाक्यले पनि गर्मीयाममा तराईको तातोबाट राहत पाउन बुकीपाटन यात्रा गरेको बताए। गाडीमार्फत ढोरपाटन पुगेपछि त्यहाँबाट पैदल यात्रा गर्दै आफूहरू पाँच जनाको टोली बुकीपाटन पुगेको उनले सुनाए। “बाटोमा धेरै पदयात्री देखिन्थे, यो अनुभव विशेष रह्यो,” उनले भने। साथै, उनले पदमार्ग अझ व्यवस्थित र सुरक्षित बनाउन स्थानीय सरकारलाई आग्रह गरे।

    पर्यटनको सम्भावना देखेर गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा बुकीपाटन पदमार्ग र पूर्वाधार विकासका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

    पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाका अनुसार, ढोरपाटन नगरपालिका–९ को पाखाथरदेखि गर्पाछेडासम्मको पाँच किलोमिटर लामो पदमार्ग निर्माण सम्पन्न भइसकेको छ। पदमार्गसँगै विभिन्न स्थानमा काठे पुलहरू बनाइएका छन्, र आगामी वर्षहरूमा थप संरचना निर्माण गर्ने योजना अघि सारिएको छ।

    बुकीपाटन, जसले अबसम्म ओझेलमा परिरहेको सुन्दरता बोकेको थियो, अहिले पदयात्रा प्रेमीका लागि खुला रहस्यजस्तै खुल्दैछ।



    Arogya Times Arogya Times    
  • ३२ असार २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट