logo
  • १० असार २०८३, बुधबार | Wed, 24 Jun 2026
  • आहा ! ढोरपाटन

    आहा ! ढोरपाटन

    अहिलेको याममा ढोरपाटन उपत्यका रंगीचंगी वनफूलले ढकमक्क फुलेर ढाकिएको छ। रातो, पहेंलो, बैजनी, गुलाबी रंगमा फुलेका फूलसँगै हरियाली समथर फाँटले स्वाभाविक रूपमा एक अनुपम दृश्य सिर्जना गरेको छ। यही सौन्दर्यले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्न थालेको छ।

    केही दशकअघि जनैपूर्णिमाका अवसरमा ढोरबहार मन्दिरमा पूजा गर्न आउने भक्तजन बाहेक यहाँ पुग्ने पर्यटक निकै थोरै थिए। त्यो बेला उपत्यका फाँटमा फुल्ने वनफूलको सौन्दर्यले ती सीमित आगन्तुकलाई समेत खासै छुन्थेन। तर अहिले भने वनफूल हेर्नकै लागि सयौं पर्यटक ढोरपाटन आइपुग्छन्। विशेष गरी बर्खायाममा ढोरपाटन झनै मोहक देखिन्छ।

    सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ढोरपाटनका तस्बिर र भिडियोहरू भाइरल भएपछि यहाँ वनफूलसँग रमाउन आउनेको संख्या उल्लेखनीय रूपमा बढेको छ। अहिले दैनिक दुई सयभन्दा बढी पर्यटक ढोरपाटन पुग्ने गरेका छन्।

    स्थानीय भाषामा ‘राके फूल’ भनेर चिनिने यी वनफूललाई ढोरपाटन सिकार आरक्षले ‘नाकेफूल’, ‘बुकीफूल’ र ‘मदानेफूल’ जस्ता नाम दिएका छन्। वनफूलसँग घुलमिल हुने पर्यटकको चहलपहलले फाँट जीवन्त देखिन थालेको छ। विशेषगरी देशका ठूला सहरहरू — काठमाडौं, पोखरा, बुटवल लगायतबाट आउने पर्यटकको संख्यामा वृद्धि भएको छ।

    ढोरपाटन होटल व्यवसायी धीरेन्द्र घर्ती मगरका अनुसार, केही वर्षअघि पर्यटकको ध्यान मन्दिर दर्शनसम्म सीमित हुन्थ्यो। तर अहिले वनफूलकै कारण ढोरपाटन पर्यटनको केन्द्र बन्न थालेको छ। “पहिले घुम्न आउनेले फाँटको फूलतिर खासै हेर्दैनथे, अहिले भने फूल हेर्नकै लागि आउँछन्। यसले होटल व्यवसाय पनि चलायमान बनाएको छ,” उनले बताए।

    अहिले ढोरपाटनमा होटल र होमस्टेहरूको संख्या बढेको छ। पर्यटकको आगमनसँगै सेवासुविधा पनि विस्तार हुँदै गएको छ। घर्ती मगरले वनफूलको संरक्षण आवश्यक रहेकोमा जोड दिँदै भने, “वनफूल नै मुख्य आकर्षण बन्दै गएको छ, तर यसको संरक्षणमा सरोकारवाला सबैको ध्यान पुग्न सकेको छैन। संरक्षण नगरे फूल मासिने खतरा छ।”

    वनफूल ढोरपाटनका समथर फाँटभरि फैलिएका छन्। त्यही फूलबीच चरनमा जाने गाईभैंसी, भेडाबाख्रा र घोडाले वातावरण अझै प्राकृतिक बनाउँछन्। पशुपंक्षीको गोबरले वनफूल अझ राम्रो फुल्ने गरेको पाइन्छ। तर पछिल्लो समय फाँटमा जथाभावी सवारीसाधन चलाउँदा फूल मासिने खतरा बढेको ढोरपाटन उपत्यका होटल व्यवसायी समितिका अध्यक्ष जीवन पुन बताउँछन्।

    उनका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष कम फूल फुलेका छन्। पछिल्ला तीन वर्षमा वनफूल फुल्ने दरमा क्रमशः कमी आएको उनले बताए। पुनका अनुसार, बर्खायाम—असारको पहिलो सातादेखि भदौसम्म—वनफूल ढोरपाटनको पाटनमा देखिन्छ। यही फूलले पर्यटक आकर्षण बढाएको छ।

    बुर्तिबाङदेखि ढोरपाटनसम्मको करिब ३२ किलोमिटर उबडखाबड सडक पार गरेर पनि पर्यटक यहाँको सौन्दर्यसँग रमाउन आइपुग्छन्। त्यसमध्ये दैनिक करिब ५० जना पर्यटक ५ घण्टाको पैदल यात्रा गर्दै बुकीपाटन पनि पुग्छन्।

    बुटवलबाट आएका आकाश गिरी ढोरपाटन र वनफूलको सौन्दर्यले मोहित छन्। “सामाजिक सञ्जालमा फोटो र भिडियो देखेर यहाँ आएको हुँ,” गिरीले भने, “ढोरपाटन त स्वर्गजस्तै लाग्यो। साथीहरूले अघिल्लो वर्ष आएर फोटो खिचेका थिए, त्यसपछि यहाँ घुम्न आउने चाहना झनै बलियो भएको थियो। अब आएर हेर्दा झनै रमाइलो लाग्यो।”

    तर उनीजस्तै धेरै पर्यटकको गुनासो एउटै छ — यहाँको विकास अपेक्षाकृत सुस्त छ। दुर्गम सडक, सीमित पूर्वाधार र संरक्षणको अभाव ढोरपाटनको दीर्घकालीन पर्यटन विकासका चुनौती हुन्।

    तर पनि, वनफूलको आकर्षणले ढोरपाटनलाई नयाँ उज्यालो पथमा डोहोर्याइरहेको छ। यदि यसको समयमै संरक्षण गरियो भने ढोरपाटन निकट भविष्यमा नेपालको प्रमुख वनपर्यटन गन्तव्य बन्न सक्छ।



    Arogya Times Arogya Times    
  • ३० असार २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट