सहप्राध्यापक डा. योगेश न्यौपानेको नेतृत्वमा नेपालिज सोसाइटी फर इक्विलिब्रियम एन्ड ब्यालेन्स (एनएसईबी) औपचारिक रूपमा स्थापना गरिएको छ । शनिबार एक समारोहको आयोजना गरी संस्था स्थापनाको औपचारिक उद्घाटन गरिएको हो ।
अध्यक्ष सहप्राध्यापक डा. न्यौपानेका अनुसार चक्कर आउने तथा घुम्ने महसुस हुने जस्ता रोगको उपचारका लागि बहुआयामिक चिकित्सकहरूको सहकार्य आवश्यक भएकाले संस्थाको स्थापना गरिएको हो ।
संस्थाले जनचेतना अभिवृद्धि, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुधार, बहुविषयगत सहकार्यको प्रवर्द्धन, भेस्टिबुलर पुनर्स्थापन सेवा विस्तार, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्ध तथा अनुसन्धान तथा नवपर्वर्तनलाई प्रोत्साहनका क्षेत्रमा काम गर्ने बताइएको छ ।
सोसाइटीमा नाक, कान, घाँटी विशेषज्ञ, न्यूरोलोजिस्ट, अडियोलोजिस्ट, फिजियोथेरापिस्टको सहभागिता रहेको छ । त्यस्तै मनोचिकित्सक, मनोवैज्ञानिक, नेत्ररोग विशेषज्ञलगायतको पनि सहभागिता रहेको छ । संस्था स्थापनाले चक्कर, भर्टिगो तथा सन्तुलनसम्बन्धी समस्याबाट पीडित बिरामीहरूको उपचार तथा व्यवस्थापनमा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने अपेक्षा रहेको सोसाइटीले बताएको छ ।
२० देखि ३० प्रतिशत वयस्कहरूले आफ्नो जीवनकालमा कुनै न कुनै समयमा चक्कर आउने महसुस गर्ने बताइन्छ । त्यस्तै ६५ वर्षभन्दा माथिका एक तिहाइ व्यक्तिहरू सन्तुलनसम्बन्धी समस्याबाट प्रभावित हुने गर्छन् । औसत आयु बढ्दै जाँदा यस किसिमको समस्यामा वृद्धि हुन सक्ने विशेषज्ञहरूको आँकलन रहेको छ ।