मेनोपज (रजोनिवृत्ति) अर्थात् महिनावारी सुक्ने महिलाको जीवनमा आउने प्राकृतिक अवस्था हो। सामान्यतया ४५ देखि ५५ वर्षको उमेरबीच महिनावारी स्थायी रूपमा बन्द भएपछि मेनोपज भएको मानिन्छ। तर यो समयमा शरीरमा हुने हर्मोनको परिवर्तनका कारण धेरै महिलाले विभिन्न शारीरिक तथा मानसिक समस्या अनुभव गर्न सक्छन्।
अचानक शरीर तातिनु (हट फ्ल्यास), राति धेरै पसिना आउने, राम्रोसँग निद्रा नलाग्ने, मुडमा उतारचढाव आउने, योनि सुख्खा हुनेजस्ता समस्या मेनोपजका सामान्य लक्षण हुन्। केही महिलामा यी लक्षणले दैनिक जीवन, काम र मानसिक स्वास्थ्यमा समेत असर पुर्याउन सक्छन्।
यस्ता लक्षण कम गर्न प्रयोग गरिने उपचारमध्ये हर्मोन थेरापी (Hormone Therapy–HT) एक महत्वपूर्ण विकल्प हो। तर धेरै महिलाको मनमा एउटा प्रश्न हुन्छ— के हर्मोन थेरापी सुरक्षित छ?
यहाँ हर्मोन थेरापी के हो, यसका फाइदा, सम्भावित जोखिम र उपचार सुरु गर्नुअघि जान्नुपर्ने महत्वपूर्ण कुराबारे चर्चा गरिएको छ।
के हर्मोन थेरापी?
हर्मोन थेरापी भनेको मेनोपजपछि शरीरमा कम हुन जाने हर्मोन, विशेषगरी एस्ट्रोजन (Estrogen) को पूर्ति गर्ने उपचार हो। केही महिलामा एस्ट्रोजनसँगै प्रोजेस्टेरोन (Progesterone) पनि दिइन्छ।
हर्मोन थेरापी विभिन्न स्वरूपमा उपलब्ध छ । यो खाने ट्याब्लेट, छालामा टाँसिने प्याच, जेल, क्रीम, एस्ट्रोजन मात्र वा एस्ट्रोजन–प्रोजेस्टेरोनको संयुक्त उपचार जस्ता स्वरूपमा उपलब्ध छ ।
कुन प्रकारको उपचार उपयुक्त हुन्छ भन्ने कुरा महिलाको स्वास्थ्य अवस्था, उमेर र चिकित्सा इतिहासका आधारमा चिकित्सकले निर्धारण गर्छन्।
हर्मोन थेरापीले कुन–कुन लक्षणमा राहत दिन सक्छ?
हर्मोन थेरापीले मेनोपजका धेरै लक्षण कम गर्न मद्दत गर्न सक्छ। जस्तै— हट फ्ल्यास (अचानक शरीर तातिने), राति अत्यधिक पसिना आउने, निद्रामा समस्या हुने, योनि सुख्खा हुने, केही महिलामा मुड परिवर्तन वा चिडचिडापन जस्ता समस्यामा राहत दिन्छ ।
उपचार सुरु गरेको केही हप्ता वा केही महिनाभित्र धेरै महिलाले लक्षणमा सुधार अनुभव गर्न सक्छन्।
हर्मोन थेरापी कत्तिको सुरक्षित छ?
हर्मोन थेरापी सबैका लागि एउटै किसिमले उपयुक्त हुँदैन। यसको सुरक्षा महिलाको उमेर, समग्र स्वास्थ्य अवस्था, व्यक्तिगत तथा पारिवारिक चिकित्सा इतिहास, उपचार सुरु गरिएको समय, प्रयोग गरिएको हर्मोनको प्रकार, उपचारको अवधि आदिमा भर पर्छ ।
हालका अन्तर्राष्ट्रिय चिकित्सा सिफारिसअनुसार, ५०–६० वर्षभन्दा कम उमेरका वा मेनोपज सुरु भएको १० वर्षभित्र रहेका स्वस्थ महिलामा, यदि लक्षणले दैनिक जीवनमा असर गरिरहेको छ भने, उचित चिकित्सकीय निगरानीमा हर्मोन थेरापीका फाइदा जोखिमभन्दा बढी हुन सक्छन्।
तर हरेक महिलाको अवस्था फरक हुने भएकाले उपचार सुरु गर्नुअघि विशेषज्ञसँग परामर्श अनिवार्य हुन्छ।
हर्मोन थेरापीका सम्भावित फाइदा
मेनोपजका लक्षण कम गर्नुका साथै हर्मोन थेरापीले केही महिलामा अन्य स्वास्थ्य लाभ पनि दिन सक्छ। यसका सम्भावित फाइदामा निम्न छन्:
– जीवनको गुणस्तरमा सुधार
– राम्रो निद्रा
– हड्डी कमजोर हुने (अस्टियोपोरोसिस) को जोखिम कम गर्न सहयोग
– दैनिक गतिविधि गर्न सहज
– मेनोपजका कारण हुने असहजता घट्नु
यद्यपि यी लाभ सबै महिलामा समान रूपमा लागू हुँदैनन्।
सम्भावित जोखिम पनि बुझ्न आवश्यक
अन्य उपचारजस्तै हर्मोन थेरापीका पनि केही सम्भावित जोखिम हुन्छन्। यी जोखिम महिलाको उमेर, स्वास्थ्य अवस्था र चिकित्सा इतिहासअनुसार फरक–फरक हुन सक्छन्। त्यसैले उपचार सुरु गर्नुअघि व्यक्तिगत स्वास्थ्य मूल्याङ्कन आवश्यक हुन्छ। केही महिलालाई उपचारका क्रममा नियमित स्वास्थ्य परीक्षण र निगरानी आवश्यक पर्न सक्छ। हर्मोन थेरापी आफैं निर्णय गरेर सुरु गर्नु हुँदैन।
विशेषज्ञ चिकित्सकले लाभ र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त उपचार सिफारिस गर्छन्।
कहिले चिकित्सकसँग परामर्श गर्ने?
यदि मेनोपजका लक्षणले राति राम्रोसँग सुत्न नदिइरहेको छ, काम वा दैनिक जिम्मेवारीमा असर गरिरहेको छ, सामान्य जीवनयापन कठिन बनाइरहेको छ, जीवनशैलीमा परिवर्तन गर्दा पनि सुधार आएको छैन भने स्त्रीरोग विशेषज्ञ वा सम्बन्धित स्वास्थ्यकर्मीसँग परामर्श गर्नु उचित हुन्छ।
चिकित्सकले स्वास्थ्य अवस्था मूल्याङ्कन गरी तपाईंका लागि सबैभन्दा उपयुक्त उपचार योजना बनाउन सहयोग गर्न सक्छन्।
मेनोपज महिलाको जीवनको स्वाभाविक चरण हो। तर यस अवधिमा देखिने लक्षणले जीवनको गुणस्तरमा उल्लेखनीय असर पार्न सक्छ। यस्ता समस्याबाट राहत पाउन हर्मोन थेरापी धेरै महिलाका लागि प्रभावकारी विकल्प हुन सक्छ।
हालसम्मका वैज्ञानिक प्रमाणले उपयुक्त महिलामा, सही समयमा र विशेषज्ञ चिकित्सकको निगरानीमा प्रयोग गर्दा हर्मोन थेरापी सुरक्षित र लाभदायी हुन सक्ने देखाएका छन्। त्यसैले मेनोपजका लक्षणले दैनिक जीवनमा असर गरिरहेको छ भने आफैं उपचार सुरु नगरी विशेषज्ञ चिकित्सकसँग परामर्श गरी आफ्नो अवस्थाअनुसार उपयुक्त उपचार छनोट गर्नु नै सबैभन्दा सही उपाय हो।
(विभिन्न एजेन्सीबाट)