भक्तपुर अस्पतालले डेक्स्ट्रोकार्डिया (मुटु छातीको दायाँ भागमा हुने जन्मजात अवस्था) भएका एक बिरामीको सफलतापूर्वक टोटल नी रिप्लेसमेन्ट (घुँडा प्रत्यारोपण) शल्यक्रिया गरेको छ। अस्पतालले यस किसिमको शल्यक्रिया पहिलोपटक सफलतापूर्वक गरेको हो ।
अस्पतालका अनुसार ती बिरामी लामो समयदेखि घुँडाको अस्टियोआर्थराइटिस (Osteoarthritis) समस्याबाट पीडित थिए। बिरामीको विशेष शारीरिक अवस्थालाई ध्यानमा राख्दै विस्तृत स्वास्थ्य परीक्षण तथा विभिन्न विधाका चिकित्सकहरूको समन्वयमा शल्यक्रिया गरिएको थियो।
शल्यक्रियामा अर्थोपेडिक सर्जन डा. मधु पाण्डे, डा. शैलेन्द्र महर्जन, डा. बिनित ढकाल र डा. रोशन ग्वाछाको टोली संलग्न रहेको थियो।
अस्पतालले शल्यक्रिया सफल भएको र बिरामीको स्वास्थ्य अवस्था हाल सन्तोषजनक रहेको जनाएको छ। बिरामी पुनर्स्थापना (रिहाबिलिटेसन) कार्यक्रमअन्तर्गत उपचाररत छन् र स्वास्थ्यमा अपेक्षित सुधार भइरहेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार यो सफल शल्यक्रियाले जटिल स्वास्थ्य अवस्था भएका बिरामीलाई समेत सुरक्षित र विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालको क्षमतालाई थप पुष्टि गरेको छ।