कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त भएका छन् । गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत डा. सुवेदीले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
उनलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।
डा. सुवेदी को हुन् ?
डा. कीर्तिपाल सुवेदी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा स्वास्थ्य प्रशासक हुन्।
सरकारी सेवाको सुरुआत उनले तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल, घोराहीबाट गरेका थिए। त्यसपछि खैरेनी प्राथमिक स्वास्थ्य केन्द्र (चितवन), भरतपुर अस्पताल, परोपकार प्रसूति तथा महिला अस्पताल (थापाथली), भेरी अस्पताल (नेपालगञ्ज) र पछिल्लो समय गजेन्द्रनारायण सिंह अस्पताल (राजविराज)मा स्त्री तथा प्रसूति रोग विशेषज्ञका रूपमा सेवा दिएका छन्।
डा. सुवेदी राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (NAMS) मा सहप्राध्यापकका रूपमा पनि आबद्ध छन्। उनले पाठेघरको मुखको क्यान्सर, मातृ स्वास्थ्य, नवजात शिशु स्वास्थ्य तथा प्रसूति सेवासम्बन्धी विभिन्न अनुसन्धान तथा वैज्ञानिक लेख प्रकाशित गरेका छन्।
हालै नेपाल सरकारको स्वास्थ्य सेवाअन्तर्गत एघारौं तहमा बढुवा भएका थिए ।